Pages

Friday, September 04, 2015

मुना मदन रिमिक्स

मुना र मदन सानै देखि एकै कक्षामा पढ्दै हुर्किए । संगै स्कुल जान्थे । संगै खेल्थे । संगै पढ्थे । नौ कक्षामा टेकेलगतै मुना र मदनमा जवानीका परिवर्तन देखा पर्न थाले । मदन भित्र भित्रै मुनालाई मन पराउन थाल्यो । स्कुल जाने क्रममा एकदिन प्रेम प्रस्ताव पनि राख्यो तर मुनाले साथी बाहेक अरु सोच्न नसक्ने भन्दै अस्विकार गरिन ।

त्यसपछी मदन मुनाको साथ पाउन तड्पिन थाल्यो । मुना भने मदनबाट टाढा भाग्न थालिन । दुबै एसएलसी सके । मदन अझै मुनालाई बिर्सिन सकेँन । प्लस टु समेत मुना पढ्ने कलेजमा भर्ना गर्‍यो तर मुनाले बाल दिईनन । प्लस टु समेत मुनाको पछि लागेर सक्यो मदनले । अन्तमा हार खायो र मुनाबाट टाढा जाने निर्णय गर्‍यो । बाँकी अध्ययन पूरा गर्न अमेरिका जान कस्सियो ।

तीन पटक लगातार असफल भएपछि बल्ल अमेरिका जाने भिसा पायो । मदनले अमेरिका जाने भिसा पाएको कुरा साथिहरू मार्फत मुनाको कानमा पर्‍यो । उनको मनमा प्रेमको अँकुरण भयो । कता कता मदनलाई भित्रै देखि माया गर्न थालेको भान भयो । तर मदन अमेरिका जादै थियो । उनलाई आफ्नो प्रिय ब्यक्ति सदाको लागि टाढा जान लागेको महसुस भयो । उनमा छट्पटी बढ्दै गयो । सपनामा समेत मदन प्लेन चढेको देख्न थालिन । अमेरिकाको चिल्लो सडकमा गाडी कुदाउदै गरेको देख्न थालिन ।

त्यसपछी उनले आफूलाई सम्हाल्न सकिनन र मदनलाई भेट्न गइन । गह भरी आसुँ लिएर मदनको हात समात्दै प्रेमको भिख मागिन । आफू पनि बच्चै देखि मदनलाई मन पराएको तर भन्न नसकेको भनेर सम्झाउन खोजिन तर मदन मानेन । मुनाको हात आफ्नो हातबाट हटाउदै भन्यो " तिमी नेपालमा हुने छौ, म अमेरिकामा । यस्तो अवस्थामा प्रेम रहन सक्दैन । तिमी आफ्नो जीवनसाथी यहि कतै खोज " यदि भन्दै मदन हिड्यो । मुना रोइरहिन । टाढा सम्म मदन हिडिरहेको हेरेर आसु झारिरहिन ।
 
अमेरिका पुगेपछि मदनको नयाँ दिनहरू सुरु भयो । बिहान उठेदेखी कामको खोजीमा पेट्रोल पम्प र स्टोरहरू धाउन थाल्यो । दुई महिनाको अबिरल खोजपछि भारतिय मुलको महिलाको पेट्रोल पम्पमा काम पायो । केही समय काम र पढाईलाई सँग संगै लग्यो तर कलेज फी तिर्ने बेला काम गरेर कमाएको सबै पैसा बुझाउदा मन कुटुक्क काटियो । त्यसपछी उसले पढाई छोडेर काम मात्र गर्न थाल्यो । बल्ल भने राम्रो पैसा जोगाउन थाल्यो ।

उता नेपालमा मुना मदनको प्रेममा छट्पट्टिएर बेहाल भएकी थिईन । त्यहि भएर उनले पनि अमेरिका गरेर मदनलाई भेट्ने मनमनै अठोट गरिन र डिभी भरिन । सच्चा मनले चाहेको कुरा भगवानले समेत जुराउछन । उनलाई डिभी पर्‍यो खुशिको सिमाना रहेन । डिभी परेको यति खुशि भईन की मदनलाई भुल्न पुगिन । यसै अमेरिका जाने उसै अमेरिका जाने भनेर मदनलाई खबर गर्नु आवश्यक ठानिनन । दोस्रो पत्र आए लगतै उनी अमेरिका उडिन ।


सुरुका दिनमा धेरै गाह्रो भयो अमेरिकामा । काम पाइएन । बल्ल बल्ल पाएको काम पनि तीन घण्टा गाडी चलाएर जानुपर्ने ठाउँमा । जसो तसो गरि मदन बसेकै राज्यमा एउटा पसलमा सामान मिलाउने काम पाईन । यो कुरा मदनले साथी मार्फत थाहा पायो । त्यसपछी मदनमा आफ्नो प्रेम फर्किएको अनुभव भयो । भित्रै देखि फेरि मुनालाई चाहन थाल्यो । एकदिन बल्ल बल्ल ठेगाना पत्ता लगाएर मुना भएको स्थानमा पुग्यो ।
 
 मुनालाई देख्नासाथ न्यानो अँगालो मार्यो र भन्यो " मुना म तिमीलाई अझै सम्म बिर्सिन सकेको छैन । आइ स्टिल लभ यू " मुनाले अँगालोबाट फुत्किदै भनिन " तर बागमतीमा पानी धेरै बगिसक्यो । अब म तिमिलाई माया गर्न सक्दिन । तिमी आफ्नै खालको जीवन साथि खोज " मदन छाङाबाट खसे जस्तै भयो । आज भोलि गर्दै बिस्तारै उसको अमेरिकाको भिसा सकिने मिती नजिकिदै थियो । त्यसपछी उसलाई नेपाल फर्किनुपर्छ भन्ने डरले पोलिरहेको थियो । त्यसकारण मदन झन् झन् मुनालाई माया गर्न थाल्यो ।

उनलाई पाउन अमेरिकामा पनि तड्पिन थाल्यो । बिस्तारै भिसा सकिने मिती नजिक आयो । मदनसँग दुई वटा बिकल्प रह्यो की शरणार्थी बनेर बस्ने की अमेरिकी नागरिकता भएको युवती सँग बिहे गरेर बस्ने । धेरै दिन सम्म बिहे गर्न मिल्ने युवती खोज्दै बाटोमा हिंड्न थाल्यो तर फेला पार्न सकेन । एकदिन काम गर्दै गर्दा आफ्नो पसलको साहुनी देख्छ । पूर्वपती सँग पारपाचुके गरेर आफ्नै पेट्रोल पम्प चलाएकी, आफू भन्दा दोब्बर उमेरको भए पनि अनुहारमा चमक हराएको थिएन । मदन मन मनै साहुनीसँग बिहे गर्ने सपना देख्छ । कहीले गिफ्ट किनिदिने त कहीले घुमाउन लग्ने गर्न थाल्छ । एकदिन साहुनीलाई आफ्नो चोखो मनको प्रस्ताव राख्छ । साहुनी पनि एक्लो जीवनबाट मुक्त हुन प्रस्ताव स्विकार्छिन । हेर्दा हेर्दै मदनको भिसाको समस्या मात्र होईन रोजी रोटी समस्या समेत समाधान हुन्छ । साहुनीको नाममा भएको दुई वटा पम्पको मालिक बनेर इज्जतसाथ जिन्दगी बिताउन थाल्छ ।

तर उता मुनाको हालत खराब हुन्छ । अर्थतन्त्र धराशायी भएको भन्दै कामबाट निकालिन्छिन । भिसा छ तर काम छैन् भनेर उनको मन धेरै रुन्छ । चारैतर्फ काम खोज्न भौतारिन्छिन । एकदिन काम खोज्ने क्रममा एउटा पेट्रोल पम्प पुग्छिन । त्यहाको काम गर्नेले साहु बस्ने स्थान देखाइदिन्छन । जब त्यहा पुग्छिन मुना फेरि छाङ्गाबाट खसे जस्तै हुन्छिन । साहु त मदन हुन्छ । त्यत्रो ठुलो पेट्रोल पम्पको साहु मदनलाई देख्दा मुनाको मनमा फेरि पुरानो प्रेम सल्बलाउन थाल्छ । अन्तर्वार्ता दिन गएकी मुना प्रेमबार्ता गर्न चाहन्थिन तर मदनले बिष्णुमतीमा धेरै पानी बगिसकेको भनेर उनको प्रेम प्रस्ताव फेरि ठुक्राउछ । र आफ्नो जीवनमा कहिले फर्केर नआउन चेतावनी दिन्छ । त्यसपछी मुना मदनलाई सम्झेर रुदै रुदै आफ्नो बाटो लाग्छिन ।

 मदन र भारतिय महिलाको पेट्रोल पम्प विश्वब्यापी आर्थिक संकट आएपछि टाट पल्टिन्छ । दुबै  जना ऋणमा चुर्लुममा डुब्छन । ऋण तिर्न नसकेर भारतिय महिलाले आत्महत्या गर्छिन । पत्नी बियोग, ऋणको समस्या र मुनाको सम्झनाले गर्दा मदनको मानसिक सन्तुलन हराउने स्थितिमा हुन्छ । फलस्वरुप मदन दिन दिनै रक्सी पिउन थाल्छ । उता मुनालाई एक डलरमा किनेको लोट्टोमा अचानक १०० मिलियन डलर पर्छ । यो खबर पाए लगतै हतारिएर बुझ्न पसल तीर गाडी चलाएर जान्छिन । आफ्नो जिन्दगीको सबै दु:खका दिन जाने भएर भनेर अत्ती खुशि भएर दुई हात छोडेर गाडी चलाउदै गर्दा मदन रक्सीले फिट्टान भएर सडकको बीच आइपुग्छ । मदनलाई बचाउन खोज्दा मुनाको गाडी भित्तामा ठोक्किन्छ । मदन हत्तपत्त मुनाको गाडी भित्र हेर्छ । रगताम्मे मुना अन्तिम श्वास फेर्दै हुन्छिन । मदनले मुनाको आँखामा हेर्छ र हात समातेर संगै स्कुल गएको दिन सम्झिन्छ । पाखुरा हेर्छ संगै छोइडुम खेलेको सम्झिन्छ । कम्मरमा हेर्छ संगै इन्टुमिन्टु खेलेको सम्झिन्छ । र हातमा हेर्छ लोट्टो देख्छ । र सोच्छ पक्कै पनि यो पल्टको १०० मिलियनवाला लोट्टो हुनुपर्छ भन्दै खोसेर लिन्छ । लोट्टो खोसिएपछी मुनाको प्राण फ्यास्स जान्छ । कसैले देख्ला भनेर लोट्टोको कागज लिएर डौडिन्छ । लोट्टो पाएपछी हाई वे हो भन्ने पनि बिर्सिन्छ । पछाडीबाट एउटा गाडीले बजाइदिन्छ । उसको पनि तत्काल मृत्‍यु हुन्छ ।      
लेखक साक्षत सुसिल 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: