Pages

Tuesday, March 03, 2015

पुरक स्वस्थानी

कुमारजी आज्ञा गर्नुहुन्छ– हे महर्षि ! 
जब वीरभद्रले बोकाको टाउको ल्याई दक्षप्रजापतिको गिँडमा गाँसेर कृत्रिम शीरजडानको कठिन शल्यक्रिया सम्पन्न गरेथे, दक्षप्रजापति जुरुक्क उठेर यताउति गर्दै ‘म्याययय’ गरी कराउन थाले । उनकी विधवा भइसकेकी पत्नी विरणीले पुनः सधवा हुन पाएकोमा दुई थोपा हर्षाश्रु नत्थसम्म झारिन् । अनि, हत्त न पत्त उनले आफ्ना पुनर्जीवित पतिलाई स्वागत गर्दै दुबाको माला के पहिराउन लागेकी थिइन्, दक्षप्रजापतिले पत्नीको हातमै थुतुनो लगेर माला चपाई दिए । विरणी जिल्ल परी टोलाइन् । टाउको पछाडि फर्केका र खुट्टा अगाडि फर्केका उनका पतिदेव भरखरै विध्वंश भएको मण्डपमा आइमाईको गन्ध सुँघ्दै लरबरिन थाले । तर दृष्टि र गति बेग्लाबेग्लैतिर फर्केकाले उनको लरखर विचित्र भयो । जब उनी सिङ् उज्याएर कसैलाई झम्टन खोज्थे आफ्नै गोडाले उनलाई अर्कोतिर पुर्याइदिन्थ्यो । जब उनी गोडा उफारेर दगुर्न खोज्थे आफ्नै दृष्टिले उनलाई धोका दिन्थ्यो । फलस्वरूप उनी बराबर भ्याङल्याङ भ्याङलाङ लड्थे, विरणी हात समाएर उठाउँथिन् । उठिसक्ना साथ उनी पत्नीको हात टोकी उफ्रेर भाग्न खोज्थे तर फेरि भुईंमा भ्याङ्ल्याङ्ग पछारिन्थे र घिच्रो पसारेर म्याँ गर्थे । प्रजापतिको जिउ र अजापतिको टाउको लिएका दक्षको यो दशा देख्ता उपस्थितहरूलाई हाँस्नु न रुनु भयो । 

_ भैरभ अर्याल
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: